विराटनगरलाई नो पार्किङ जोन बनाइने
कात्तिक ३०, विराटनगर । जिल्ला ट्राफिक कार्यालय मोरङले विराटनगरको बसपार्क देखि बरगाछि क्षेत्रमा नो पार्किङ जोन बनाउने भएको छ ।
ट्राफिक कार्यालय मोरङका प्रमुख भएर आएका राकेश पोद्धारले शुक्रबार पत्रकार भेटघाटमा विराटनगरमा भएको अव्यवस्थित सडक जामलाई नियन्त्रणमा ल्याउनका निमित्त नो पार्किङ जोन बनाउने बताएका हुन् ।
विभिन्न संघसंस्था, स्कुल कलेज, पार्टी प्यालेसहरुमा पार्किङ स्थल निर्माण नगर्नाले र फुटपाथमा पसल अव्यवस्थित पसल गर्नाले र बाइपासको व्यवस्था नभएका कारण सडक जाम भएको पोद्धारले बताए । विराटनगर प्रदेश १ को राजधानी भएकाले जाम रहीत होस् भन्ने उद्देश्य सहित फिल्डमा आफै खटिएर काम गर्ने उनले जिकिर गरे ।
उनले आफ्नो कार्य अवधिसम्म सडकमा राखिएका फुटपाथलाई व्यवस्थित गर्ने, ट्राफिक जनचेतनाको कार्यक्रमलाई प्रभाकारी रुपमा अगाडि बढाउने, पार्किङ स्थल निश्चित क्षेत्रमा निर्माण गर्ने प्रतिवद्धता जनाएका छन् । साथै ट्राफिक मोड देखि जलजला रोडसम्म पार्किङ निषेध गर्ने र कोशी अञ्चल अस्पताललाई जाम रहित बनाउने बताए ।
उनले राजमार्ग तथा भित्री सडक बीच भागमा रहेका पोलहरु सडक तथा महानगर लगायत सरोकारवालासँग समन्वय गरेर तत्काल हटाइने र सवारी साधनको प्रदुषण जाँचको व्यवस्था पनि चाँडै गरिने जानकारी दिए ।