आज ब्राजिल र अर्जेन्टिना भिड्दै, मेस्सी फर्किए राष्ट्रिय टोलीमा

कात्तिक २९, एजेन्सी । क्लब फुटवलबाट आराम लिँदै राष्ट्रिय टोलीमा गएका खेलाडीहरु अबका केहि दिन अन्तराष्ट्रिय फुटवलमा हुनेछन् ।   

यसै दौरान आज शुक्रबार ब्राजिल र अर्जेन्टिनाले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपाली समयअनुसार आजै राति १०ः४५ बजेबाट हुने खेलमा कोपा अमेरिका पछि ब्राजिल र अर्जेन्टिनाले भिड्ने भएका छन् । अर्जेन्टिना र ब्राजिलबीचको खेल साउदी अरेबियाको रियादमा हुनेछ । ४६औं संस्करणको कोपा अमेरिकाको सेमिफाइनल खेलपछि ब्राजिल र अर्जेन्टिनाले पहिलोपटक प्रतिस्पर्धा गर्न लागेका भएकोले दुवै टिमको लागि यो खेल विशेष रहनेछ ।   

कोपा अमेरिकामा ब्राजिलसँग अर्जेन्टिनाले हार ब्यहोरेको थियो । सोही हारको बदला लिने दाउमा आज अर्जेन्टिना हुनेछ । भने, कोपा अमेरिका उपाधि विजेता ब्राजिल भने अर्जेन्टिनाविरुद्धको जित कायमै राख्ने दाउमा छ ।   

आजको खेलबाट अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी पनि टिममा फर्किदैछन् । मेस्सीमाथि कोपाले तीन महिना अन्तर्राष्ट्रिय खेलबाट प्रतिबन्ध लगाएको थियो । कोपा अमेरिकाका दौरान आयोजकलाई भ्रष्ट भएको भन्दै अभिव्यक्ति दिएका कारण मेस्सीमाथि कन्मेबलले ३ महिनाको प्रतिबन्ध लगाएको थियो । 

उक्त प्रतिबन्धपछि मेस्सीले चिली, मेक्सिको, जर्मनी र इक्वाडरविरुद्धको मैत्रीपूर्ण खेल गुमाएका थिए ।   

मेस्सी ब्राजिलविरुद्धको खेलमा टोलीमा फर्किएपछि टिमका खेलाडीहरु आज ब्राजिलसँग सहज जित निकाल्न सक्नेमा आशावादी छन् । अर्जेन्टिनाका लागि  म्यानचेष्टर सिटीका खेलाडी सर्जियो अगुएरो पनि आजको टोलीमा छन् । केही समयदेखि अर्जेन्टिनाको टोलीबाहिर रहेका अगुएरो पनि टोलीमा फर्किएका हुन् । यस्तै पाउलो डिबाला र लाउटारो मार्टिनेज पनि ब्राजिलविरुद्धको टोलीमा रहेकाले आजको खेल रोमाञ्चक हुनेछ । 

ब्राजिलका स्टार खेलाडी नेयमार भने आजको खेलमा हुने सम्भावना छैन । चोटका कारण उनले यो खेल गुमाउन सक्नेछन् । रियल मड्रिडका रोड्रिगोले आजबाटै ब्राजिलको सिनियर टोलीमा डेब्यू गर्न सक्ने अन्तराष्ट्रिय मिडियाले बताएका छन् । १८ वर्षीय उनी यसै सिजन रियल मड्रिडमा अनुबन्ध भएका हुन् । उनलाई सोमबार मात्र ब्राजिलको सिनियर टोलीमा बोलाइएको थियो । 

ब्राजिलको टिममा रोबर्ट फिर्मिन्हो, ग्राबियल जेसस, डेनिलो, फिलिप्पे कौटिन्हो, थियागो सिल्भा जस्ता खेलाडी अर्जेन्टिना विरुद्ध मैदान उत्रिन सक्ने छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *