‘मेडिकल कलेजहरुले बढी शुल्क फिर्ता वा समायोजन गर्नुपर्छ’ प्रवक्ता शर्मा

कात्तिक २६, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्माले बढि शुल्क लिने निजी मेडिकल कलेजहरुले सरकारले तोकेको मितिभित्रै बढि शुल्क फिर्ता वा समायोजन गर्नुपर्ने बताएका छन् ।  मंगलबार रिपोर्टर्स क्बलमा बोल्दै प्रवक्ता शर्माले मन्त्रालयले मेडिकल कलेजहरुले विद्यार्थीहरुसँग लिएको बढी रकम फिर्ता वा समायोजन गर्नेसम्बन्धी सूचनासमेत प्रकाशित गरेको सुनाए ।   

तोकिएकोभन्दा बढि रकम विद्यार्थीहरुसँग लिएको भए सुचना प्रकाशित भएको १५ दिनभित्र निजी मेडिकल कलेजहरुले विद्यार्थीहरुसँग लिएको बढी रकम फिर्ता वा समायोजन गर्न गराउन आग्रह गरिएको उनले जनाए ।   

त्यतिमात्रै नभएर आफूहरुले दिएको समयावधिभित्र निजी मेडिकल कलेजहरुले बढी रकम फिर्ता नगरे विद्यार्थीहरुले आफ्नो प्रमाणसहित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिनसमेत आग्रह गरिएको उनले सुनाए ।  उनले अनशनरत चिकित्सक डा. गोविन्द केसीका मागहरु आफ्नो मन्त्रालयसँग सम्बन्धित नभएको स्पष्ट पारे । प्रवक्ता शर्माले चिकित्सा शिक्षा आयोगलाई सबैले काम गर्न दिनुपर्ने धारणा समेत राखे ।   

उनले सबै विज्ञहरु राखेर वैज्ञानिक शूल्क निर्धारण गरिनुपर्ने पनि बताए । त्यस्तै, उनले अनशनरत डा. केसीसँग वार्ता गर्नुपर्छ वा पर्दैन भन्ने सवालमा आफू सम्बन्धित व्यक्ति नभएको भन्दै उक्त प्रश्नबाट पन्छिए । 

सरकारले वार्ता टोली बनाओस्: डा. भण्डारी   

नेपालका लागि नेपाली अभियानका संयोजक तथा बरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले डा. गोविन्द केसीले राखेका सबै माग सरकारले पूरा गर्नुपर्ने बताएका छन् ।   

उनले भने,‘डा. केसी अनशन बस्नुभएको आज आठौं दिन हो । उहाँले उठाउनु भएका सबै माग जायज छन् । सरकारले विलम्ब नगरी सबै माग पूरा गर्नुपर्छ ।’  भण्डारीले सरकारले केसीले उठाएका माग पूरा गर्दै छिटो समाधान गर्नुपर्ने जिकिर गरे । 

 ‘सरकारले डा. केसीको माग सम्बोधन गर्दा सरकार, नागरिक र सरोकारवालाको हित हुन्छ ।’ भण्डारीले निजी मेडिकल कलेजहरु पनि नाफामुखी बन्न नहुनेतर्फ ध्यानाकर्षण गराए । ‘निजी मेडिकल कलेजहरुले सामाजिक उत्तरदायित्वलाई ख्याल गर्नुपर्छ ।’–उनले थपे ।   

निजी मेडिकल कलेजहरुले सरकारले निर्धारण गरेको भन्दा बढि शुल्क लिनु निन्दनीय भएको पनि उनको टिप्पणी छ । डा. केसीले राखेका मागहरुमध्ये एउटामात्रै माग पूरा गरेर नहुने भन्दै उनले सबै माग पूरा गर्नुपर्नेमा जोड दिए । सरकारले डा. केसीसँग अविलम्ब वार्ता टोली बनाएर वार्ता तथा सम्वाद गर्नुपर्ने पनि उनको आग्रह छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *