नेकपाका धरानका उम्मेद्वारले नाचेरै मागे भोट

कात्तिक २८, धरान । जतिजति धरानमा नगर प्रमुखको उपनिर्वाचनको मिति नजिकिँदै छ त्यत्ति नै दलहरु तथा तीनका उम्मेदवारहरुको चुनाबी अभियान बढेको छ ।   

धरानका दलहरुले घरदैलो अभियानलाई तिब्रता दिइरहँदा नेकपा र नेपाली कांग्रेसका उम्मेद्वारहरु भने उम्मेद्वार सहित घरदैलो अभियानमा दौडिइरहेका छन् ।   

नेकपाले बिहिबार धरानमा घरदैलो अभियान गर्दा भने फरक दृश्य देखियो । नेकपाबाट मेयरका प्रत्यासी उम्मेद्वार प्रकाश राई मतदाता माझ खुलेरै नाच्दै भोट मागिरहेका थिए ।   

उनी जनताका घरदैलोमा जाँदा मतदातासँग मत माग्ने मात्र होइन, आफना योजना सुनाउनेदेखि मतदातालाई प्रभावमा पार्न छमछमी नाच्न समेत भ्याए । यो दृश्य हेर्दा लाग्थ्यो धरानमा पुनः यसपटक नेकपाले नै बाजी मार्छ । तथापि, ब्यालेटको कुरा भएकोले अनुमान मात्र गर्न सकिन्छ । मंसिर १४ लाई नपर्खिइ धर छैन ।   

राईले बिहिबार नै धरान १४ मा छमछमी नाच्दै जनताहरुसँग भोट मागे । विजयपुर स्थित मण्डप चोकमा मतदाता भेला भएर उनलाई स्वागत गर्न पर्खिरहेको समयमा पुगेका प्रकाश राईले त्यहाँ बजाइएको चुनाबी गीतमा  मतदातासँगै छमछमी नाँचे । 

यसरी मेयरका प्रमुख दावेदार घरदैलोमै आएर नाच्न थालेपनि मतदातापनि उनलाई साथ दिन थाले । ‘उमेद्वार नै आएर लौ नाचौं भनेपनि हामी ननाच्ने कुरै हुँदैन । सँस्कृति प्रेमी उमेद्वारलाई नगरको प्रमुखमा चुन्न पाउनु हाम्रो लागि गर्वको कुरा हो ।’ धरान–१४ का कपिल पोखरेलले भने ।   

विगत डेढ वर्षदेखि नगर प्रमुख विहिन रहेको धरान उपमहानगरपालिकाले विकासको क्षेत्रमा धेरै काम गर्न बाँकी छ । जनताका काम गर्नका लागि पनि यसपटकको चुनावमा कम्युनिस्टकै उम्मेद्वारले जीत हासिल गर्नुपर्ने स्थानीयहरुको तर्क पनि छ । ‘एउटै पार्टीका मेयर उपमेयर भएको खण्डमा जनताका एजेण्डामा छलफल गर्दा मतभेद हुँदैन ।’ स्थानीयको धारणा छ ।   

मंसिर १४ गते हुने उपनिर्वाचनले धरान उपमहानगरपालिकामा रिक्त रहेको प्रमुख तथा ७ नं. वडाको वडाध्यक्ष निर्वाचित गर्दैछ । 

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेकपाले १५ वटा वडा र नेपाली कांग्रेसले ५ वटा वडामा वडाध्यक्ष जितेको थियो । नगर प्रमुखमा तत्कालिन नेकपा एमालेका उमेद्वार तारा सुब्बाले २० हजार मत ल्याएर विजयी भएका थिए । भने, कांग्रेसका उमेद्वार तिलक राईले १६ हजार मत ल्याएका थिए । यस पटकको उपचुनावमा नेकपाका प्रकाश राई र नेपाली कांग्रेसका तिलक राईलगायतका २३ जनाले उम्मेद्वारी दिएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *