सुत्ने बेला पनि विद्यार्थीका बारे सोच्न मेयर चौधरीको आग्रह

मंसिर  १, चितवन ।  शिक्षक सेवा आयोगबाट छनौट भएका प्राथमिक शिक्षकहरुलाई खैरहनी नगरपालिकाले आईबार पदस्थापन गरेको छ ।  

खैरहनीमा १९ जना शिक्षकहरु छनौट भएका छन् । उनीहरु सवै महिलानै छन् । नगरपालिकामा आयोजित एक कार्यक्रमका बीच खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरीले प्राथमिक शिक्षकहरुलाई पदस्थापन पत्र हस्तान्तरण गरे ।  

नगरपालिका भित्रका विद्यालयहरुमा आवश्यकता अनुसार उनीहरुलाई विद्यालयनै तोकेर पदस्थापन गरिएको स्थानीय शिक्षा अधिकारी महेन्द्र पौड्यालले बताए । प्राथमिक शिक्षकहरुलाई कक्षा ५ सम्म अध्यापन गराउन तोकिएपनि विद्यालयको आवश्यकता अनुसार कक्षा ८ सम्म अध्यापन गराउन सकिने स्थानीय शिक्षा अधिकारी पौड्यालले जानकारी दिए ।  

पदस्थापन कार्यक्रममा खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरीले सामुदायिक विद्यालयहरुमा सरकारले लगानी गरे अनुसार प्रतिफल आउन नसकेको भन्दै प्राथमिक शिक्षकहरु जिम्मेवार वन्नु पर्ने जोड दिए । कितावी ज्ञान मात्र नभई नैतिक र सामाजिक ज्ञान समेत दिनु पर्ने उनको भनाई थियो ।  

शिक्षक र विद्यार्थीबीच भावनात्मक सम्वन्ध बढाउन सके सिकाईको स्तर वृद्धी हुने भन्दै सुत्ने बेला पनि विद्यार्थीका बारे सोच्न मेयर चौधरीले आग्रह गरे । खैरहनी नगरपालिका ७ का वडाध्यक्ष समेत रहेका सामाजिक विकास समिति संयोजक मनेजर चौधरीले शैक्षिक गुणस्तर वृद्धी गर्न प्राथमिक शिक्षकहरु सचेत बन्नु पर्ने बताए । चितवनको सात पालिकामा २४८ जना प्राथमिक शिक्षकहरुलाई पदस्थापनका लागि सिफारिस गरिएको छ । खैरहनीमा पदस्थापन भएका प्राथमिक शिक्षकहरुले अग्रेजी,नेपाली,सामाजिक विषयमा स्नाकोत्तर र स्नातक तह उर्तिण गरेका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *