राज्य व्यवस्था समितिले भन्यो– लिपुलेक, लिम्पियाधुरा नेपालको नक्सामा समेटेर सार्वजनिक गर


कार्तिक २५, काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रलाई नेपालको नक्सामा समेटेर सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ ।
सीमा विवादबारे छलफल गर्न समितिको आज बसेको बैठकले काली नदीलाई सीमा मानेर नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको हो ।
भारतले कालापानीलाई समेटेर बनाएको नक्सा त्रुटिपूर्ण रहेको समितिको ठहर छ । समितिले नयाँ नक्साअनुसार पाठ्यक्रमहरुमा सुधार गर्न समेत सुझाएको छ । भारतीय अतिक्रमणविरुद्ध एकजुट भएर अगाडि बढ्न समितिको अपिल छ ।
समितिको आजको बैठकमा छलफलका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई डाकिएको थियो । तर उनी उपस्थित भएनन् । उनको सट्टा भूमि व्यवस्थामन्त्री पदमा अर्याल उपस्थित थिइन् । मन्त्री अर्यालले पनि कालापानी नेपालकै भएको छलफलमा बताएकी छिन् । लिम्पियाधुराको काली नदी नै नेपाल भारत सीमाना भएको उनको स्पष्टोक्ति थियो ।
