युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा तिब्बत–नेपाल इकोनोमिक एन्ड ट्रेड फेयर सुरु

मंसिर ९, काठमाडौं– राजधानीको त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा सोमबारबाट चारदिने चीन तिब्बत–नेपाल इकोनोमिक एन्ड ट्रेड फेयर सुरु भएको छ ।   

जन गणतन्त्र चीनको वाणिज्य मन्त्रालय अन्तर्गतको ट्रेड डेभलपमेन्ट ब्युरो र चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासास्थित तिब्बत बोर्डर ट्रेड चेम्बरको आयोजना तथा नेपाल–चीन उद्योग वाणिज्य संघको सहकार्यमा एकदेशीय व्यापार मेला सुरु भएको हो । 

आयोजक तिब्बत बोर्डर ट्रेड चेम्बरका अध्यक्ष लावा छिलेका अनुसार मेलामा चीनका ५० भन्दा बढी प्रदर्शकले स्टल राखेका छन् ।   

null

मंसिर १२ गतेसम्म चल्ने मेलामा जौबाट बनेका खाद्य सामग्री, दुग्ध पदार्थ, मदिरा, वाइन, तिब्बती औषधी, हस्तकला, स्किन केयरसम्बन्धी उत्पादन, खेलकुद, कपडा, भवनका सामग्री, साइकल लगायतको स्टल राखिएको छ ।   

नेपालमा लगानीको अवसर पहिचान गर्न चाहने चिनियाँ कम्पनीहरु पनि मेलामा सहभागी भएको अध्यक्ष छिलेले जानकारी दिए । यो मेलाले नेपाल र चीनबीचको व्यापार र आर्थिक सम्बन्ध अझ बलियो बनाउने विश्वास पनि व्यक्त गरे । 

नेपाल–चीन उद्योग वाणिज्य संघका अध्यक्ष त्रिभुवनधर तुलाधरले मेलामा व्यवसायी–व्यवसायीबीच (बिटुबी) छलफल, समझदारीपत्रमा हस्ताक्षर लगायत कार्यक्रम रहेको बताए । मेलाको उद्देश्य उपभोक्तालाई वस्तु बिक्री गर्ने भन्दा पनि चिनियाँ वस्तुको क्रेता (बायर)लक्षित प्रदर्शनी गर्नु रहेको उनले बताए । त्यसैले चिनियाँ व्यवसायीले नेपाली व्यवसायीसँग आयात निर्यात अभिवृद्धि, लगानी लगायत विषयमा अन्तक्र्रिया गर्ने लक्ष्य लिएको तुलाधरको भनाइ छ । 

दुई चेम्बरबीच सन् २०१४ मा भएकोा समझदारी अनुसार दुवै मुलुकका उद्यमी, व्यवसायीले पालैपालो आफ्ना वस्तु अर्को मुलुकमा लगेर प्रदर्शन गरी दुईपक्षीय व्यापारको आकार बढाउन यसपालि चिनियाँ व्यवसायी नेपाल आएको बताइएको छ । आगामी अप्रिलतिर नेपाली व्यवसायीले तिब्बतमा आयोजना हुने यस्तै प्रकारको प्रदर्शनीमा स्टल राख्ने योजना छ ।   

यो मेलाले दुई देशबीचको व्यापारिक क्रियाकलाप वृद्धि हुने र सदियौं पुरानो आर्थिक, व्यापारिक तथा सामाजिक सम्बन्ध अझ प्रगाढ हुने आयोजक र सहयोगी संस्थाको विश्वास छ । 

मेलामा सहभागी चिनियाँ व्यवसायीले नेपालमा उत्पादन गरेर चीन निर्यात गर्न सकिने वस्तुबारे पनि अध्ययन गर्ने उद्देश्य राखेको तुलाधरले जानकारी गराए । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्याल प्रमुख अतिथि रहेको उद्घाटन समारोहमा नेपालका लागि चिनियाँ दूतावासका वाणिज्य सचिव, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ लगायतको सहभागिता थियो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *