१८ औँ नाम सम्मेलन आज शुरु हुँदै, प्रधानमन्त्री ओलीले शिखर सम्मेलनको पूर्ण सत्रलाई सम्बोधन गर्ने

कात्तिक ८, काठमाडौँ । असंलग्न आन्दोलन (नाम) राष्ट्रहरूका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरूको १८औँ शिखर सम्मेलन आजबाट (शुरु) हुँदैछ । बाकु सम्मेलन केन्द्रमा स्थानीय समयअनुसार बिहानको १० बजे सम्मेलनको औपचारिक उद्घाटन हुने कार्यक्रम रहेको छ ।   

सम्मेलनमा नामका १२० सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवम् सरकार प्रमुख, परराष्ट्रमन्त्री, १७ पर्यवेक्षक राष्ट्र र १० पर्यवेक्षक सङ्गठनहरुका प्रतिनिधिहरु सहभागिता हुँदैछन् ।   

सम्मेलनमा नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले २१ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै छन् । शिखर सम्मेलनमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल बिहीबार अबेर राति कतारको दोहा हुँदै कतार एयरको नियमित उडानमार्फत बाकु पुगेको हो ।   

null

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई, परराष्ट्र सचिव शङ्करदास वैरागी, नेपालका लागि संयुक्त राष्ट्रसङ्घका स्थायी प्रतिनिधि अमृत राई र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू समावेश छन् ।   

प्रधानमन्त्री ओलीले औपचारिक उद्घाटनपछि नाम शिखर सम्मेलनअन्तर्गत ‘समसामयिक विश्वका चुनौतीहरूलाई एकीकृत तथा पर्याप्त मात्रामा सम्बोधन गरिएको सुनिश्चित गर्नका लागि बाङडुङ सिद्धान्तको अनुपालन’ विषयमा बाकु सम्मेलन केन्द्रमा हुने शिखर सम्मेलनको पूर्ण सत्रलाई सम्बोधन गर्नेछन् ।   

यसैगरी, प्रधानमन्त्री ओली अजरबैजानका राष्ट्रपति इलहाम अलिएभले सम्मेलनमा सहभागी हुने सदस्य राष्ट्रका राष्ट्रध्यक्ष÷सरकार प्रमुखको सम्मानमा आयोजना गर्नुहुने रात्रिभोजमा पनि आज सरिक हुने छन् । प्रधानमन्त्री ओलीले नाम सम्मेलनका सन्दर्भमा बाकुमा रहँदा विभिन्न राष्ट्रहरूका राष्ट्राध्यक्ष एवम् सरकार प्रमुखहरूसँग द्विपक्षीय भेटवार्ताहरू गर्ने कार्यक्रम रहेको छ ।   

शिखर सम्मेलनअघि कात्तिक ४ देखि ५ गतेसम्म बाकुमा उच्च अधिकारीहरूको बैठक तथा ६ र ७ गते मन्त्रिस्तरीय पूर्वतयारी बैठक भएको थियो । यस सम्मेलनमा १७औँ शिखर सम्मेलनले गरेका निर्णयहरूको कार्यान्वयनका दिशामा भएका प्रगति एवं समीक्षा गरी बाकु घोषणापत्र जारी गरिनेछ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *