राप्तीले सुन्याे टोल विकास संस्थाका गुनासा, कालिकामा हाजिरी जवाफ


असोज ३, चितवन । संविधान दिवसको दिन राप्ती नगरपालिकाले नगरभित्र रहेका टोल विकास संस्थाका पदाधिकारीहरुसँग छलफल तथा अन्तर्क्रिया गरेको छ ।
टोल विकास संस्थाका गुनासोहरु सम्बोधन गर्दै समृद्ध नगर निर्माणमा जुट्ने उद्देश्यका साथ नगरपालिकाले आयोजना गरेको कार्यक्रममा टोल विकास संस्थाका पदाधिकारीहरुले संस्थालाई जिम्मेवार, अधिकार दिएर विकास निर्माणको काममा लगाउन माग गरे ।
राप्ती ८ मा रहेको वडहरा टोल विकास संस्थाका अध्यक्ष विनोद धरेलले नाम मात्रैको टोल विकास संस्था भएकाले भुमिका दिनुपर्ने बताए । ‘टोल विकास संस्थाहरु अधिकारी विहीन छन् । अधिकार दिएर योजनाहरु कार्यान्वयन, रेखदेखमा परिचालन गर्न आवश्यक छ’, धरेलले भने ।
अन्य टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले विकृती रहित नगर, शान्त, समृद्ध बनाउन टोल विकास संस्थाहरुबाट सहयोग लिनुपर्ने धारणा राखे । राप्ती नगरपालिका प्रमुख प्रभा बरालले योजनालाई प्रभावकारी बनाउन टोल विकास संस्थाको भुमिका महत्वपूर्ण रहने भएकाले सक्रिय र सचेत रहन आग्रह गरिन् । टोल विकास संस्थाहरुलाई केही अधिकार दिएर योजना कार्यान्वयनमा लगाउन नगरपालिकाले गृहकार्य गरिरहेको उनले बताइन् ।
राप्ती नगरपालिका उपप्रमुख इमानसिंह लामाले विकासको पहिलो आधार टोल विकास संस्था भएकाले उनीहरुलाई अधिकार दिइने बताए । ‘टोल, वडाको विकास विना नगरको विकास सम्भव छैन । योजना प्रभावकारी, गुणस्तरीय बनाउन पनि टोल विकास संस्थालाई अधिकार दिनु पर्छ’, उपप्रमुख लामाले भने ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिठाराम हुमागाईँ, वडाध्यक्षहरु वुद्धिराज थपलिया, अम्वर वहादुर तामाङ लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
कालिकामा हाजिरीजवाफ प्रतियोगिता
त्यस्तै चितवनको कालिका नगरपालिकाले संविधान दिवसको दिन शुक्रबार अन्तर माध्यमिक विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको छ ।
प्रतियोगितामा पृथ्वी माध्यमिक विद्यालय प्रथम,जमुनापुर माध्यमिक विद्यालय द्धितिय र भीमोदय माध्यमिक विद्यालय तृतिय भए । प्रथम, द्धितिय र तृतिय हुने विद्यालयहरुले क्रमशः नगद ६ हजार रुपैया,४ हजार ५ सय रुपैयाँ र ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । विजयी विद्यालयहरुलाई कालिका नगरपालिका प्रमुख खुमनारायण श्रेष्ठले पुरस्कार प्रदान गरेका थिए ।
