आजदेखि मनसुन पुनः सक्रिय हुँदै


काठमाडौं, १७ साउन । एक साता यता निस्कृय रहेको मनसुन अब सक्रिय हुने भएको छ । मनसुन सक्रिय गराउने न्यूनचापीय रेखा भारतको उत्तरी भू–भागतर्फ सर्ने क्रम शुरु भएसँगै नेपालमा वर्षाको प्रभाव दोहोरिने भएको हो । मनसुन ट्रफ सामान्य रेखा नजिक सर्न थालेको र केही दिनभित्रमा नेपाल नजिक आउने भएकाले निस्कृय मनसुन सक्रिय हुने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो ।
‘तत्काल निरन्तर र भारी वर्षाको संभावना नरहे पनि धेरै ठाउँमा मध्यमस्तरको वर्षा हुने गतिविधि विकास भइरहेको छ’–उहाँले भन्नुभयो । न्यूनचापीय रेखा भारतको गंगानगर, अलाहवाद, कलकत्ता, बंगालको खाडीको शिर आसपासको भेगमा सरेको अवस्थालाई मौसमविद्हरु सामान्य अवस्थाका रुपमा बुझ्ने गर्छन् ।गए रातीदेखि मेघ गर्जनसहित मध्यम वर्षाका गतिविधि सुरु भएको र यो क्रम केही दिन जारी रहने महाशाखाद्वारा जारी विशेष बुलेटिनमा उल्लेख छ । आज शुक्रवार पश्चिमी पहाडी भेगका केही स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।
