‘नेपाल र भारतबीच कार्यान्वयन हुन नसकेका सबै सम्झौता खारेज गर्नुपर्छ’

 

साउन २९, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल र भारतबीच थाती रहेका सम्झौता खारेज गरी नयाँ शिराबाट बढ्नुपर्ने बताएका छन् । 

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको ‘नेपाल–भारत सम्बन्धको भविष्य र सम्भावना’ विषयक अन्र्तक्रियामा बोल्दै मन्त्री ज्ञवालीले सम्झौता भएको दशकौंसम्म कार्यान्वयनमा जान नसकेका सम्झौता खारेज गर्नुमा दुवै देशको हित रहेको बताएका हुन् । 

null

‘दशकौँ हुँदा पनि केही सम्झौताहरु कार्यान्वयनमा जानुको साटो उल्टो तनावको विषय बन्न गइरहेका छन् । अब त्यस्ता सम्झौतालाई कि कार्यान्वयन गरौं कि पन्छाऔँ’, परराष्ट्रमन्त्री ज्ञवालीले भने । 

पञ्चेश्वर परियोजना, कर्णाली जलविद्युत आयोजना लगायतका सम्झौतातर्फ संकेत गर्दै उनले कार्यान्वयन या खारेजीको विकल्प रोजेर बढ्नुमा दुवै देशको हित हुने बताए । 

रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाको सभापतित्वमा सम्पन्न अन्र्तक्रियामा परराष्ट्रमन्त्री ज्ञवालीले भारतले नेपालका लागि उद्धारभाव देखाउनुपर्ने बताए । नेपाल विश्व महाशक्ति या क्षेत्रीय शक्ति पनि नभएको र बन्ने महत्वाकांक्षा पनि नराखेको बताउँदै भने, ‘हामी समृद्धिको उद्देश्य बोकेर अगाडि बढ्न चाहन्छौँ, त्यसका लागि भारतले उदारताका साथ साथ देओस् ।’ 

भारतबाट लगानीको अपेक्षा गरिएको र त्यसले भारतको पनि हित गर्ने बताए । नेपाल र भारतबीच व्यापार घाटा बढिरहँदा नेपाललाई ठूलो नोक्सानी परिरहँदा भारतबाट नेपालमा उद्योग संचालनमा लगानी हुन सके घाटाको समस्या समाधान हुने बताए । 

नेपाल भारतबीच संस्कृति जनताले जर्गेना गर्दै आएको उल्लेख गर्दै उनले अबका दिनमा आर्थिक सम्बन्ध मजबुत र साझेदारसहितको हुनुपर्नेमा जोड दिए । नेपालमात्र भारतसँग निर्भर नभएर भारत पनि नेपालसँग निर्भर रहेको व्याख्या गर्दै एक अर्काबीचको निर्भरतालाई मनन गरेर आपसी हितमा बढ्नुपर्ने बताए । 

त्यसका लागि आवश्यक परे विगतका सन्धी सम्झौता परिवर्तन या परिमार्जनको विकल्पमा जोड दिए । दुई देशबीच आर्थिक सम्बन्धलाई प्रगाढ बनाउने गरी पूर्वाधार निर्माणले गति लिएको बताए । 

मोतिहारी अमलेखगञ्ज पाइपलाइन उद्घाटन हुन गइरहेको, हुलाकी राजमार्गको दुईवटा खण्ड उद्घाटन हुन लागेको र वीराटनगर जोगवनी चेकप्वाइन्ट शुरु हुन गइरहेको, आन्तरिक जलमार्ग सुचारु गर्ने तयारी भइरहेको भन्दै आर्थिक सम्बन्ध मजबुत बनाउने दिशातर्फ द्विपक्षीय सम्बन्ध बढेको पनि बताए । 

मन्त्री ज्ञवालीले भारतको ७३ औँ स्वतन्त्रता दिवसको बधाई दिँदै भारत लोकतन्त्रमा पनि सुदृढ र सबल सरकार निर्माण हुन्छ र विकासले गति लिन सक्छ भन्ने उदाहरण भएको बताए । मन्त्री ज्ञवालीले भारतबाट विश्वले सिक्ने विषय रहेको भन्दै उसको आर्थिक वृद्धि र सबल लोकतन्त्रबाट नेपालले पनि सिकिरहेको स्पष्ट पारे । 

भारतको प्रगतिबाट नेपाल खुशी हुने भन्दै भारत पनि नेपालको प्रगतिबाट खुशी भएकोमा धन्यवाद व्यक्त गरे । उनले भने, ‘बलियो र समृद्ध नेपाल भारतका लागि लाभदायक हो र भारतले यसलाई आत्मसाथ गरेकोमा धन्यवाद व्यक्त गर्दछु ।’  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *