नेकपा नेता सापकोटाविरुद्धको हत्या मुद्दाः संवैधानिक इजलासमा सुनुवाई सुरु


असार २५, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद तथा पूर्वमन्त्री अग्नि सापकोटासहित नेकपाका नेताविरुद्ध सर्वोच्चमा परेको मुद्दामा अदालतको संवैधानिक इजलासमा आज (बुधबार) देखि सुनुवाई सुरु भएको छ ।
२०७२ चैतमा मुद्दा संवैधानिक इजलासमा आएको थियो । आजबाट सुनुवाई सुरु भएको हो ।
null
काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको भन्दै पत्नी पुर्णिमाया लामाले सापकोटा र पूर्वसहायक ऊर्जामन्त्री सूर्यमान दोङ लगायतका नेताविरुद्ध २०६९ मंसिर ७ गते रिट दायर गरेकी थिइन् । उक्त रिटमा अन्तिम फैसलाका लागि संवैधानिक इजलासमा सुनुवाई हुन लागेको हो ।
मुद्दाको सुनुवाईका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले आफूसहित वरिष्ठतम न्यायाधीशहरु दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्की संवैधानिक इजलास गठन गरेका छन् ।
०७२ चैत २२ गते सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले उक्त मुद्दा संवैधानिक इजलासले सुनुवाइ गरी फैसला गर्न पठाएको थियो । उक्त आदेशपछि पटकपटक मुद्दाको पेशी सर्दै आएको थियो ।
सर्वोच्चले काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटा संलग्न भएर–नभएको अनुसन्धान गर्न र संलग्न भएको भए पक्राउ गर्न २०६८ असार ६ गते आदेश दिएको थियो ।
२०६२ वैशाख १६ गते लामाको अपहरण भएको थियो । उनी काभ्रेको छत्रबाँसस्थित कृष्ण माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष थिए । उनको अपहरण भएको दुई महिनापछि बुढाखानी गाविसस्थित चारकिल्लामा गाडेको अवस्थामा शव फेला परेको थियो।
