सगरमाथा आरोहण अनुमतिको संख्या आधा कटौती गर्न सुझाव

 

जेठ २३, काठमाडौँ । सगरमाथा सफाइ अभियानले सगरमाथा हिमाल क्षेत्रबाट सङ्कलित फोहरजन्य सामग्री ‘ब्लु वेस्ट टु भ्यालु’ संस्थालाई हस्तान्तरण गरेको छ । 

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित नेपाली सेनाको १४ बाहिनी परिसरमा बुधबार आयोजित समारोहमा सगरमाथाको आधार शिविरबाट ‘साउथ कोल’ सम्मबाट सङ्कलन गरिएको प्रशोधन गर्न मिल्ने फोहरजन्य सामग्री उक्त संस्थालाई हस्तान्तरण गरिएको हो । 

null

सगरमाथा हिमाल सफाइ अभियानका संयोजक एवं खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष निम दोर्जेले दरबारमार्गस्थित ब्लु वेस्ट टु भ्यालुका कार्यकारी निर्देशक नवीन विकास महर्जनलाई विश्व वातावरण दिवसका अवसरमा हिमालबाट सङ्कलन गरिएको ती फोहरजन्य सामग्री हस्तान्तरण गरेका हुन् । 

गत वैशाख १ देखि जेठ २१ गतेसम्म खुम्बु पासाङल्हामु गाउँपालिकाको नेतृत्वमा सगरमाथाको आधार शिविरदेखि साउथकोलसम्म सफाइका क्रममा ११ हजार किलो फोहरजन्य सामग्री सङ्कलन गरिएको अभियानका संयोजक दोर्जेले बताए । 

सङ्कलन गरिएकोमध्ये नसड्ने र नगल्ने फोहरजन्य सामग्री मात्र काठमाडाैँ ल्याइएको छ भने गल्ने र सड्ने फोहर भने स्थानीय रुपमा नै व्यवस्थापन गरिएको जानकारी दिइयो । सगरमाथा हिमाल सफाइका क्रममा हिउँले पुरिएको अवस्थामा फेला परेका चार वटा शवसमेत सङ्कलन गरेर काठमाडौँ ल्याइएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । 

पैँतालिस दिनको उक्त सफाइ अभियानमा परिचालित १२ मध्ये आठ जना शेर्पा क्याम्प दुईमा बसेर पालैपालो साउथकोलसम्म पुगेर फोहर सङ्कलन गरेको संयोजक दोर्जेले बताए । यस वर्षको आरोहण दलका सदस्यबाट सगरमाथाको आधार शिविरदेखि साउथकोसम्म भएको चार हजार ५०५ केजी मलमूत्रसमेत सङ्कलन गरी व्यवस्थापन गरिएको सो अवसरमा जानकारी दिइयो । 

अभियान बाहेक पनि आधार शिविरबाट १४ हजार किलो फोहर सङ्कलन भएको दाबी गरिएको छ । अन्यको तुलनामा दोस्रो आधार शिविरमा फोहरको परिमाण बढी रहे पनि सफाइ अभियानपछि उक्त शिविर स्वच्छ र सफा भएको संयोजक दोर्जेले बताए । 

सगरमाथा हिमाल सफाइ अभियानले आयोजना गरेको हस्तान्तरण कार्यक्रममा पर्यटन विभागका महानिर्देशक डुण्डुराज घिमिरेले सफाइ अभियानका क्रममा अरोहण दलका सदस्यले प्रयोग गरेको भर्‍याङ, अक्सिजनका खाली सिलिण्डर, बियरका बोतल, डोरी र प्लाष्टिकलगायतका सामग्री सङ्कलन गरेर काठमाडाैँ ल्याइएको जानकारी दिए । 

अभियानका संयोजक दोर्जेले अहिले सगरमाथा आरोहणका क्रममा देखिएको भिड्ले त्यहाँ कुनैपनि बेला हुनसक्ने ठूलो मानवीय क्षतिको पक्षलाई विचार पुर्याएर आरोहणलाई केही हदसम्म कटौती गर्न सुझाव दिए । उनले भने, “सगरमाथा आरोहण गर्न पाउन हुन्न भन्ने नभइ एकै पटकमा हिमाल चढ्ने सङ्ख्या अहिले अली बढी भयो, अहिलेको चापलाई अर्काे मौसममा लगेर मिलाउन सकिन्छ त्यसतर्फ सरकारले सोच्नुपर्छ, अहिलेको चापलाई घटाउन अक्टोबर महीनामा आरोहण गर्न प्रोत्साहन गर्न सकिन्छ ।” 

यसवर्ष सगरमाथाको आरोहणका लागि स्वदेशीसहित ६०० को सङ्ख्यामा आरोहण दलका सदस्यलाई अनुमति दिइएको थियो । त्यसलाई घटाएर यो मौसममा ३०० को सङ्ख्यामा सीमित तुल्याउन सुझाव दिइएको छ । 

नेपाली सेनाका प्रवक्ता पाण्डेले प्रधानसेनापतिको आफनो सातवटामध्ये एउटा लक्ष्य वातावरण र पर्यावरण सरक्षण अन्तर्गत हिमाल सफाइमा योगदान दिने पहल भएको हुँदा आगामी दिनमा पनि सङ्गठनले यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । 

नेपाली सेनाको समन्वयमा उक्त कार्य भएको हो । यस वर्षको सगरमाथा हिमाल सफाइ अभियानका लागि रु दुई करोड ६८ लाख सात हजार रकमको प्रतिबद्धता र सम्झौता भएको सो कार्यक्रममा जानकारी दिइयो । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *