दिवा खाजा कार्यक्रममा साढे चार करोड अनियमितता

काठमाडौं, २ वेशाख । देशभरका सामुदायिक विद्यालयमा लागू भएको विद्यालय दिवा खाजा कार्यक्रममा व्यापक अनियमितता भएको पाइएको छ । महालेखापरीक्षकको ५६ औं वार्षिक प्रतिवेदन अनुसार ४ करोड २८ लाख नियमसम्मत खर्च नभएको देखिएको छ । ‘रामेछाप, ओखलढुंगा, ललितपुरलगायतका विद्यालयलाई निकासा दिएको ४ करोड २८ लाख रुपैयाँ नियमसम्मत नभएको देखिन्छ । उक्त निकासाबाट भएको खर्च सम्बन्धमा छानबिन गरी यकिन गर्नुपर्ने देखिन्छ,’ महालेखाले भनेको छ । 

महालेखापरीक्षकको प्रतिवेदनअनुसार शिक्षा विकास तथा समन्वय इकाइ झापाले निर्देशिकाविपरीत रकम बाँडेको देखिन्छ । लक्षित समूहका विद्यार्थीलाई दिवा खाजाको रकम दिनुपर्नेमा जिल्लाका ३ सय १३ प्राथमिक विद्यालयका १३ हजार ८ सय ६१ विद्यार्थीका लागि २ हजार ७ सय रुपैयाँका दरले ३ करोड ७४ लाख २५ हजार ७ सय रुपैयाँ निकासा दिएको देखिन्छ । निर्देशिकाविपरीत निकासा भएको रकम यकिन गरी असुल गर्नुपर्ने महालेखापरीक्षक प्रतिवेदनको निष्कर्ष छ । 

सामुदायिक विद्यालयका विद्यार्थीका लागि दिवा खाजा कार्यक्रम सञ्चालन कार्यविधि, २०७३ तथा कार्यक्रम कार्यान्वयन निर्देशिकाअनुसार तोकिएका १४ जिल्लाका सबै र अन्य जिल्लाका लक्षित समूहका बालबालिकालाई प्रतिदिन १५ रुपैयाँका दरले १ सय ८० दिनका लागि दिवा खाजा उपलब्ध गराउनुपर्ने व्यवस्था छ । सरकारले १३ लाख ५४ हजार विद्यार्थीलाई लक्षित गर्दै दिवा खाजा कार्यक्रम लागू गरे पनि सो कार्यक्रम लक्षित वर्गसम्म पुग्न सकेको छैन । 

null

शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले यस वर्ष ४० जिल्लाका सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम लागू गरेको छ । जसका लागि २ अर्ब १५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । तर, अधिकांश सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम प्रभावकारी नभएको पाइएको छ । बालबालिकाहरूका लागि उपलब्ध गराउन विद्यालयगत तथ्यांकका आधारमा प्रतिविद्यार्थी दैनिक १५ रुपैयाँका दरले १ सय ८० दिनका लागि विद्यालयको खातामा निकासा गरिएको छ । 

खास क्षेत्र तथा अति सीमान्तकृत, लोपोन्मुख जातिका बालबालिका एवं जिल्लाका विद्यार्थीका लागि दिवा खाजा उपलब्ध गराउन विद्यालयलाई शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले अनुदान रकम उपलब्ध गराएको हो । दिवा खाजा उपलब्ध गराइएका विद्यालयको विद्यार्थी दैनिक हाजिरी पुस्तिकाको प्रतिलिपि विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्षबाट प्रमाणित गराई स्थानीय तहमा संकलन गरी संख्या यकिन भएपश्चात् थप निकासा दिने व्यवस्था, क्रियाकलाप र कार्यान्वयन प्रक्रिया उल्लेख गर्न निर्देशिकामा भनिएको छ । 

सामुदायिक विद्यालयका विद्यार्थीका लागि दिवा खाजा कार्यक्रम सञ्चालन कार्यविधि २०७३ मा स्थानीयस्तरमा उपलब्ध हुने खाद्य पदार्थबाट सम्बन्धित विद्यालय खाजा व्यवस्थापन समितिले विद्यार्थीलाई खाजा उपलब्ध गराउने भनिएको छ । जसमा कार्बोहाइड्रेट समूह चामल, गहुँ, मकै, कोदो, फापर, जौ, आलु, तरुल, सखरखण्ड आदि समेटिएको छ । 

यस्तै, प्रोटिन समूहअन्तर्गत भटमास, सिमी, केराउ, चना, गेडागुडी, माछा, मासु, अन्डा आदि छन् । यस्तै, शरीरका अंगको सन्तुलित विकास र कार्य क्षमता वृद्धिका स्याउ, सुन्तला, जुनार, नासपती, मेवा, केरालगायतका फलफूलहरू र घिउ, तेल, नौनी, दूध, दही आदि पर्दछन् । आजको राजधानी दैनिकमा प्रशान्त वलीलले लेखेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *