दृष्टिविहिन विद्यार्थीहरुका लागी आर्थिक सहयोग


चितवन, २० फागुन । चितवनको भरतपुरमा रहेको दृष्टिविहिन विद्यार्थीहरु अध्ययन गर्ने नारायणी नमूना माध्यमिक विद्यालयको अक्षय कोष स्थापनाका लागि आर्थिक सहयोग गरिएको छ । कलरफूल स्याडोको समन्वयमा गैर आवासीय नेपाली संघले दृष्टिविहिन विद्यार्थीहरुको अध्ययनका लागी निर्माण गरिएको अक्षय कोषमा एक लाख रुपैयाँ प्रदान गरेको हो ।
सो कार्यक्रममा जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख दिपेन्द्र सुवेदीले जिल्ला दृष्टिविहिन तथा बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरु अध्ययन गर्ने १२ वटा विद्यालय भएकाले सबैलाई एकै ठाउँमा समेट्दै एउटै माध्यमिक विद्यालय निर्माण गर्नुपर्ने बताए । स्थानीय तह सँग सहकार्य गर्दै छुट्टै व्यवस्थापनमा सञ्चालन हुने गरी नारायणी नमूना माविले नै बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरुका लागि विद्यालय सञ्चालन गर्न सकेमा विद्यार्थीहरु लाई सहजता हुने सुवेदीले बताए ।
null
कार्यक्रममा कलरफूल स्याडोका कोषाध्यक्ष सौगात वाग्लेले आफूहरुको संस्थाले दुई वर्ष अगाडि देखि दृष्टिविहिन विद्यार्थीहरुका लागि सहयोग जुटाउन सुरु गरेको बताए । आफ्नो लागि आफै काम गर्नुपर्छ भन्ने मान्यता राखेर दृष्टि विहिन विद्यार्थीहरुको हौसला वृद्धि गर्न सबैले सहयोग गर्नुपर्ने वाग्लेले बताए । यस्तै, नारायणी नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक पूर्णप्रसाद दवाडीले २०५६ सालमा स्थापना भएको दृष्टिविहिन इकाईमा सरकारको मात्रै सहयोग पर्याप्त नभएर विभिन्न व्यक्तिहरुले सहयोग प्रदान गर्दै आइरहेका बताए ।
इकाईमा ३२ जना विद्यार्थी, दुई जना स्रोत शिक्षक, दुई जना आया रहेको उल्लेख गर्दै दवाडीले हालसम्म २९ जना दृष्टि विहिन विद्यार्थीहरुले एसएलसी तथा एसईई उत्तीर्ण गरीसकेका जानकारी दिए । विद्यालयले एक करोड ६१ लाख रुपैयाँको लागतमा दृष्टि विहिन विद्यार्थीहरुका लागि पक्की छात्रावास निर्णको काम थालेको दवाडीले बताए । नारायणी नमूना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा गैर आवासीय नेपाली संघका कोषाध्यक्ष सोम सापकोटाले आगामी दिनमा समेत विद्यालयलाई सहयोग गर्दै जाने प्रतिवद्धता जनाएका थिए ।
