‘समर्पण’ (लघु कथा)


फागुन २, काठमाडौँ । हजुरआमा बितेपछि म बेसरी एक्लो भएँ । मेरो सबैभन्दा मिल्ने साथी ‘म’ थिएँ । मपछि मेरि हजुरआमा थिइन् । आफूलाई भन्दा धेरै प्रेम गर्ने नातिलाई अन्तिम सास लिने बेलामा देख्न पाइनँ । अनि मैंले पनि हजुरामाको अन्तिम झुल्को पाइनँ । सायद मेरो पीडा मेरो बुबाले बुझ्नु भयो होला । त्यसैले हजुरआमालाई असाध्यै मन पर्ने सेतो हास मेरो लागि जन्म दिनमा उपहार ल्याइदिनुभयो ।
null
सुन्दर सेता हास जसलाई राजहास भनिन्थ्यो । एक जोडि हास आएपछि म र हास साथी भयौँ । हामीहरु घर आँगन हुँदै पोखरी तिर घुम्थ्यौँ । हास पोखरीको पानीमा अबेर सम्म पौडिन्थे, पोखरीका माछाहरु खान्थे । म भने पोखरीको डिलमा बसेर स–साना ढुङ्गाहरु उफारी रहन्थेँ ।
हासका जोडी पानीको सतहमा आफुलाई खुब खुशी पार्थे । एक अर्कालाई बेहद प्रेम गर्थे सायद उनीहरु । घण्टाैँ सम्म एक अर्कालाई हेरेर बसिदिन्थे, मारेको माछा पनि आधा–आधा खान्थे । चुच्चोमा चुच्चो जोडेर आफैँमा हराइरहन्थे । म भने उनीहरुको यो चर्तिकला हेरेर बसिरहन्थेँ । जबसम्म घामले क्षितिजबाट बिदाइको हात हल्लाउँदैन थियो तबसम्म न म नै पोखरी को डिल छोड्थेँ न हास नै ।
घर जानूपर्ने बेला भयो भन्ने जानेपछि पोखरीबाट निस्किएर मेरै खुट्टा मा ठुङ्ग्दै भाले अगाडि लाग्थ्यो । अनि पोथी मेरो पछाडी । म दौडिए उनीहरु दौडिन्थे । म रोकिए उनीहरु पनि रोकिन्थे । हजुरआमाको याद मेटाउने एक असल बहाना थिए । अनि मेरो मन बहलाउने बाटो । म उठेर चारो न दिए सम्म चारो खानै नमान्ने भएका थिए ती हास । थाहा छैन ती पन्छीसँग मेरो के लगाब थियो र उनीहरुको मसँग के लगाब थियो । त्यो न म जान्दथे न उनीहरु । न भाषा मिल्थ्यो न सपना तर भावना र अभिव्यक्ति मिल्थ्यो सायद ।
एक अर्कालाई बेहद प्रेम गर्ने राजहासहरुको रखवाला थिएँ । साथी थिएँ । भाले पोथी बिच झगडा भए दुबै मेरो एक र अर्को छेउतिर आएर मलाई हेरि बस्थे । म केही नबोली सुम्सुम्याइ दिन्थेँ । उनीहरु फेरि जिस्किन थाल्थे । थाहा छैन । के सम्बन्ध थियो यस्तो । जो हामी तीन एक अर्कालाई बुझ्थ्यौँ ।
समय सधैँ कहाँ पो एकनास हुन्छ र । समयले सम्बन्धमा तगारो हाल्न चाह्यो भने बेर लगाउने रहेनछ । यस्तै भइदियो हास को सम्बन्धमा ।
एक रात ढाडे बिरालोले हमला गरेर पोथी हासलाई मारिदियो । त्यो दिनदेखि भाले एक्लो भयो । उ मसँग केही बोल्न सक्दैन थियो । न म नै उसँग बोल्न सक्थेँ । त्यसपछि उ झोक्राइरहयो । एक्लै चारो खान मानेन । पोखरीमा पौडिन मानेन । खाली बसिरहन्थ्यो मेरै छेउमा ।
पोथी मरेको तीन दिन भएको थियो । बाहिर पारिलो घाम लागेको थियो । आज खै किन भाले फुरुङ्ग थियो, सोचे अब भाले खुशी हुन थाल्यो । भाले आज पोखरी जान तम्सियो र हानियो पोखरीतिर । पोखरी को डिल जहाँ म अक्सर बस्थेँ त्यहाँ हेर्यो यसो खोस्रियो । पोखरीलाई एक फन्को लगायो । लाग्यो सायद खोज्यो होला पोथीलाई । पखेटा फट्फटायो अनि भुरर्र्र उडेर हानियो पोखरी को बिचमा ।
आफ्नो चुच्चो बेसरी पानीमा डुबायो अनि आफुलाई पनि डुबायो । सोचे उ माछा खोज्न पानीभित्र पौडीरहेछ । उसले आज अरु दिन भन्दा बढी समय पानी भित्र बितायो । उ बिस्तारै माथि उत्रियो । प्वाखहरु खुल्ला थिए । जिउ हल्का थियो । चुच्चो पानी मै डुबेको थियो । म झस्किएँ । अनि यसो ढुङ्गा टिपेर हाने हास माथी । ढुङ्गा लाग्यो आवाज भ्वाक्क आयो तर हास उठेन । लामो लौरो लिएर हासलाई ताने पोखरीको डिलमा अनि उठाएर हेरेँ। ऊ त मरिसकेको थियो ।
आफ्नो प्रेमिकाको बियोग सहन नसकेर ज्यान उसैको नाममा समर्पित गरिदियो एक हासले । विक्षिप्त भएँ । मैंले पुनः हजुरआमासँगै हासको साथ गुमाएँ । म एक्लो भएँ । सोचेँ यदि मैंले कसैलाई हासले जतिकै प्रेम गरेँ र उसलाई गुमाएँ भने म के गरुँला…
के आर पाण्डुलिपि सुर्खेत
