धरानमा थ्री स्टार लेवलको होटल गजुर प्यालेस सञ्चालनमा आउँदै
माघ १३, धरान । पर्यटकीय नगरी धरानमा सुविधा सम्पन्न थ्री स्टार होटल सञ्चालनमा आउने भएको छ । धरान ८ स्थित भोटेपुलमा थ्री स्टार लेवलको होटल गजुर प्यालेस सञ्चालनमा आउन लागेको हो । होटलको औपचारीक सुरुवात आउँदो माघ २५ गते हुँदैछ ।
धरानका युवा ब्यवसायी गोपाल आचार्यले उक्त होटल सञ्चालनमा ल्याउन लागेका हुन् । धरानलाई पर्यटकीय शहर भनेपनि धरान बाहिरबाट आउने पर्यटकका लागि सबै प्रकारका सुविधा भएका होटल नभएको अवस्थामा उनले गजुर प्यालेस सञ्चालन गरेका हुन् । आज धरानमा पत्रकार सम्मेलन गरी सञ्चालक आचार्यले ८ करोड ४५ लाखको लगानीमा सो होटल सञ्चालनमा ल्याउन लागेको बताए ।
null
ब्यवस्थित अण्डरग्राउण्ड पार्किङ सुविधा सहित सञ्चालनमा आउन लागेको होटलमा किङस्विट रुम, स्विट रुम, प्रिमियम डिलक्स रुम, एक्सक्ल्युसिप डिलक्स रुम, सुपेरीयर डिलक्स रुम र टुईन डिलक्स रुम रहेका छन् । कोठाको स्तर अनुसार न्युनतम ४ हजार ९ सय देखि अधिकतम १९ हजार ९ सयसम्म मुल्य तोकिएको छ ।
होटल गजुर प्यालेसमा सेमिनारका लागि २ सय जना सम्म अट्ने सेमिनार हल,४ सय जनासम्म अट्ने पार्टी प्यालेस, भीआईपीका लागी आकर्षक लञ्चबार समेत रहेको छ । होटलमा आगन्तुकले अनलाइन मार्फत कोठा बुक गर्न सक्ने ब्यवस्था गरिएको छ ।
धरानमा खोलिएका होटलहरुमा गुणस्तरीय र स्वच्छ खाना पाउन नसक्ने समस्यालाई मध्य नजर गर्दै गजुर प्यालेसले २२ वर्षदेखि तारे होटलमा सेफको काम गर्दै आइरहेका सेफको ब्यवस्था गरेको छ । होटललाई सफासुग्घर राख्न र पाहुनालाई राम्रो आतिथ्यता प्रदान गर्न तालिम प्राप्त कर्मचारी राखिएको छ । ‘कुनैपनि होटल राम्ररी सञ्चालन हुन त्यहाँको हस्पिटालिटी राम्रो हुनुपर्छ, हामीले यहि कुरालाई ध्यानमा राखेर अनुभवी, तालिम प्राप्त कर्मचारी राखेका छौं ।’ आचार्यले भने ।
धरानमा गुणस्तरीय होटलको अभाव हुँदा धरान घुम्न आउने पर्यटक पनि आवासका लागि धरान बाहिर इटहरी र विराटनगर जाने गर्दथे । थ्रि स्टार होटल खोलेपछि धरान घुम्न आउने बाह्य पर्यटकलाई आवासको समस्या केहि हदसम्म कम हुने विस्वास लिइएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै पत्रकार महासंघ सुनसरीका पुर्वअध्यक्ष राजेश बिद्रोहीले धरानमा स्तरिय होटलहरु खुल्ने क्रम बढेपनि तारे होटलहरु खुल्न नसक्दा पर्यटकले राम्रो सुविधा नपाएको बताए । उनले गजुर प्यालेसले धरानमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने प्याकेज ल्याउन सके धरानको पर्यटन ब्यवसायमा टेवा पुग्ने बताए ।
महासंघ सुनसरीमा उपाध्यक्ष सन्तोष काफ्लेले धरानमा कम्तीमा दुई तिन ओटा तारे होटलको आवश्यक्ता रहेको औंल्याउँदै होटलले धरानमा आउने पर्यटकलाई नयाँ स्वाद दिनेमा विस्वस्त रहेको बताए ।