बाढीले बगाएर भारत पुर्याएको गैँडा नेपाल ल्याइयो

 

पुस २, चितवन । विश्वकै दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा नारायणीमा डुङ्गा शयर गरेर आफ्नो घर भित्रिएको छ । गत वर्ष राप्ती नदीमा आएको बाढीले बगाएर भारत पु¥याएको करीब १५/२० वर्षको पोथी गैँडालाई गए राति चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको हो । 

यसअघि बाढीले बगाएका १० गैँडालाई राष्ट्रिय प्रकृति संरक्षण कोष र चितवन निकुञ्जको संयुक्त टोलीले उद्धार गरेर घर फर्काएको थियो । केही गैँडा भारतको तल्लोभागमा पुगेकाले उद्धार गर्न सकिएको थिएन । 

null

यसपालि एउटा गैँडा नेपाली भूमिमा आएपछि भने उद्धार गर्न सफल भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकाल बताउँछन् । अझै दुई गैँडा भारतमा रहेको निकुञ्जको भनाइ छ । 

 

उद्धार गरिएको उक्त गैँडालाई राति करीब ११ बजे चितवन निकुञ्जको तमोरताल नजिकै ल्याएर छाडिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष र चितवन निकुञ्जका वन्यजन्तु प्राविधिक तथा पशु चिकित्सकसहित ३० भन्दा बढी संरक्षणकर्मी उद्धारमा खटिएका थिए । उद्धारमा तीन हात्तीको प्रयोग गरिएको थियो । 

सुस्तावासीले गैँडा उद्धारमा ठूलो सहयोग गरेको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामकुमार अर्यालले बताए । शनिबार सुस्ताको उखुबारीमा आइपुगेको गैँडालाई स्थानीयवासीले ट्याक्टर तेस्र्याइ रातभर जाग्राम बसेर छेकेका थिए । 

आइतबार वन्यजन्तु प्राविधिक टोलीले गैँडालाई डार्ट गरेर (बन्दुकबाट औषधि पठाई लठ्याएर) नियन्त्रणमा लिइएको थियो । “रातभर जाग्राम बसेर सुस्तावासीले गैँडालाई रेखदेख गर्नुभयो, यो प्रशंसनीय कार्य हो”, अर्यालले भने । 

 

आइतबार दिउँसो २ः५० बजे उद्धार भएको गैँडालाई साँझ ठूलो डुङ्गामार्फत नारायणी तारेर नवलपरासीको त्रिवेणी ल्याइएको थियो । त्यसपछि ट्रकमा राखेर राति नै चितवन ल्याइएको हो । यसरी बाढीले बगाएका गैँडालाई डुङ्गामा तारेर ल्याइएको यो दोस्रो हो । झण्डै दुई हजार किलोको गैँडालाई डुङ्गामा तार्नु जोखिम भए पनि स्थानीयवासीको सहयोग र माझीको कुशलताले सफल भएको निकुञ्जले जनाएको छ । 

उक्त गैँडा १५/२० दिनअघिदेखि नै भारतीय भूमिमा देखिन थालेको थियो । भारतीय क्षेत्रमा भएकाले गैँडा उद्धारका लागि भारतले अनुमति दिएको थिएन । विगतमा सहज रूपमा गैँडा उद्धारमा सहयोग गरेको भारतको वाल्मिकी टाइगर रिजर्बले यसपालि भने सहयोग नगरेको गुनासो उद्धारमा खटिएका संरक्षणकर्मीको छ । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *