यातायातमा सिन्डिकेट : व्यवसायी र विभागबिच जुहारी

काठमाडौं, चैत १८ । सरकारले यातायात क्षेत्रको सिन्डिकेट मान्य नहुने बताएपनि व्यवसायीहरुले सरकारको निर्देशनलाई चुनौती दिंदै आएका छन् । व्यवसायीहरुले विभिन्न समिति र महासंघका नाममा देशैभरी सिन्डिकेट लागु गरिरहेका छन् ।

प्रधानमन्त्री केपी ओलीले केही दिनअघि यातायात व्यवस्था विभागलाई बनेपा–काठमाडौं रुटमा चल्ने मयूर यातायातका बसलाई अवरोध पुर्‍याएर सिन्डिकेटलाई प्रश्रय दिन महासंघ लागि परे रुट इजाजत खारेजसम्मको निर्देशन दिएका थिए । तर, महासंघले निर्देशनको वेवास्ता गर्दै अरनिको राजमार्गमा चल्ने सवारी आवागमनलाई ठप्प पारेको छ ।

स्थानीय व्यवसायीसँग समन्वय नगरी यातायात व्यवस्था विभागले मयूर यातायात प्रालिलाई रुट इजाजत दिएको भन्दै उसले आवागमन ठप्प पारेको हो । कोटेश्वर पूर्वका १३ वटा समितिले अरनिको राजमार्गमा आइतबार गाडी गुडाउन बन्द गरेका छन् ।

यता, विभागले महासंघलाई अबरोध तत्काल हटाउन चेतावनी दिएको छ । आइतबार पत्रकार सम्मेलन गरेर विभागले रुट परमिट यातायात व्यवसायी महासंघको सिफरिसमा नभई विभागमा पञ्जिकरणका आधारमा दिने प्रष्ट पारेको छ । विभागले यातायात क्षेत्रमा जारी सिन्डिकेट तोड्न व्यवसायीको समिति र महासंघका सिफारिस नमान्ने जनाएको छ ।

विभागले रुट इजाजत दिने यातायात व्यवस्थापन कार्यविधि निर्देशिकामा संशोधन गर्दै अब विभागमा पञ्जीकरण भएका कम्पनीका सावर्जनिक सवारीलाई मात्रै रुट इजाजत दिने बताएको छ । विभाग पञ्जीकरणको व्यवस्था अनविार्य गरेपछि अब कम्पनी रजिष्टारको कार्यालयकामा दर्ता भएका कम्पनीका गाडीहरुको मात्र रुट पाउने अवस्था बनेको छ ।

महानिर्देशक रुपनारायण भट्टराईले विभागले यातायात व्यवसायीका महासंघ र समितिहरुलाई नचिन्ने बताए । ‘हाम्रो ऐनले त्यस्ता समितिहरुलाई चिन्दैन । त्यसैले अब विभागमा पञ्जीकरण भएका सवारीले मात्रै रुट इजाजत पाउँछन्,’ महानिर्देशक भट्टराईले भने,’अब नयाँ आउने सवारीले कम्पनीमा दर्ता भएपछि विभागमा पञ्जीकरण गरेपछि मात्रै रुट पाउँछन् ।

अब कम्पनीमा दर्ता नभएका सवारीले मात्र रुट इजाजत पाउने छैनन् । विद्यमान व्यवस्थाअनुसार ४–४ महिनामा रुट इजाजात नवीकरण गर्नुपर्छ ।

पछिल्लो पटक काठमाडौं बनेपा रुटमा मयुर यातायातलाई रुट इजाजत दिएपछि अरनिको राजमार्गमा चल्ने बसका समितिहरुले आन्दोलनको चेतावनी दिएका छन् ।

तर, जतिसुकै आन्दोलन गरे पनि मयुर यातायात प्रालिलाई दिएको रुट परमिट खारेज नहुने यातायात व्यवस्था विभागले जनाएको छ ।
अब पन्जीकरण अनिवार्य भएपछि भइरहेको करोडौ कर छली पनि रोकिने विश्वास छ । अहिले यातायात समितिहरूले सिन्डिकेट खडा गरेर रूटहरू बिक्री गरिरहेका छन् ।

मयूर यातायातका बस बनेपा–कोटेश्वर–एयरपोर्ट–चाबहिल–नारायणगोपालचोक–बालाजु–कलंकी–बल्खु हुँदै कोटेश्वरबाट पुनस् बनेपा पुग्ने गरेका छन् । त्यसैगरी बनेपा–कोटेश्वर–एकान्तकुना–बल्खु–कलंकी–बालाजु–चक्रपथ–चाबहिल–गौशाला हुँदै कोटेश्वरबाट पुनस् बनेपा पुग्ने पनि यसको अर्को रुट छ । मयूरले यी रुटमा १४ वटा ४२ सिटे र अन्य ३७ सिट भएका प्रविधिमैत्री बस सञ्चालन गरेको छ ।

मयूर यातायातका अध्यक्ष मोहन श्रेष्ठले महासंघका नाममा सिन्डिकेट लादेर केही व्यवसायीहरुले प्रतिष्पर्धामा अबरोध पुर्याएको बताए ।

उनले भने, ‘६ र ७ वटा गाडी तोडफोड गरिसके, गलत तरिकाबाट बस चलाएका छैनौँ, कसैको रुट परमिट खारेज गर भनेर हिडेका छैनौं, स्वच्छ प्रतिस्पर्धा गरौं, जसरी पनि यात्रुलाई सुविधा दिने हो । बसले बच्चा हुने आमालाई आरक्षण सिटको व्यवस्था गरिएको छ । ७० वर्षभन्दा माथिकालाई निस्शुल्क सिट, अपांगता भएका तथा अशक्तलाई निस्शुल्क सिट, ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट र ट्राफिक प्रहरीलाई निस्शुल्क सिटको व्यवस्था गरिएको छ ।’

यता, महासंघका प्रदेश ३ संयोजक धर्मराज रिमालले स्थानीय व्यवसायीले सवारी आगमनलाई ठप्प पारेको बताए । स्थानीय समितिसँग समन्वय नगरी बस सञ्चालन भएपछि उनीहरुले विरोध गरेको बताए । स्थानीय समितिसँग समन्वय नगरे अवरोध गरिने उनले चेतावनी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *