निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सरकार गम्भीर देखिएन


कार्तिक २०, काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार र सरकारी निकाय आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण ढङ्गले सम्पन्न गराउन प्रतिबद्ध नदेखिएको आरोप लगाएका छन् ।
अध्यक्ष ओलीले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्ने वातावरण बनाउन यूरोपेली युनियनले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास समेत व्यक्त गरे । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा सोमबार बिहान युरोपेली युनियन निर्वाचन पर्यवेक्षण टोलीसँगको सामूहिक भेटमा उनले आसन्न निर्वाचनलाई निष्पक्ष ढङ्गले सम्पन्न गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका हुन् ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सरकार र सरकारी निकाय गम्भीर नदेखिएको कुरा अध्यक्ष ओलीले बताएकाे भेटमा सहभागी एमाले नेता विष्णु रिमालले जानकारी दिए ।
भेटमा युरोपियन युनियनका निर्वाचन पर्यवेक्षण टोलीले निर्वाचन पर्यवेक्षणका लागि आवश्यक वातावरण बनाई दिन अध्यक्ष ओलीसँग आग्रह गरेका थिए । जवाफमा ओलीले निर्वाचन पर्यवेक्षणका लागि पार्टीको तर्फबाट आवश्यक वातावरण बनाउन सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
