बैतडीमा पूर्वराज्यमन्त्री र बहालवाला राज्यमन्त्रीबीच टक्कर


बैतडी, कात्तिक २३ । पहिलो चरणअन्तर्गत् आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बैतडीमा यसअघि संविधानसभाको निर्वाचनमा विजयी भएका पूर्वसांसदबीच टक्कर हुने भएको छ ।
दोस्रो संविधानसभा निर्वाचनका बेला दुई क्षेत्र रहेको बैतडीमा क्षेत्र नम्बर–१ बाट नेकपा एमालेका दामोदर भण्डारी विजयी भएका थिए भने क्षेत्र नम्बर–२ बाट नेपाली कांग्रेसका नरबहादुर चन्द विजयी भएका थिए ।
भण्डारी केपी ओली सरकारका बेलामा अर्थ राज्यमन्त्री बनेका थिए भने चन्द अहिले वाणिज्य राज्यमन्त्री छन् ।
जिल्लामा आसन्न निर्वाचनका लागि प्रतिनिधिसभाका लागि एउटामात्र क्षेत्र रहेकामा पूर्वराज्यमन्त्री भण्डारी र बहालवाला राज्यमन्त्री चन्द चुनावी मैदानमा उत्रिएकाले चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ ।
पूर्वअर्थ राज्यमन्त्री भण्डारी वाम गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका छन् भने वाणिज्य राज्यमन्त्री चन्द लोकतान्त्रिक गठबन्धनका तर्फबाट चुनावी मैदानमा छन् ।
संविधानसभा निर्वाचनमा भण्डारी १ नम्बर क्षेत्रबाट ११ हजार ६७१ मतसहित विजयी भएका हुन् भने चन्द २ नम्बर क्षेत्रबाट १२ हजार ४६६ मत ल्याइ विजयी भएका थिए ।
जिल्लामा स्थानीय तहको निर्वाचनको मतपरिणामलाई हेर्दा वाम गठबन्धनको बढी मत छ । जिल्लाका १० स्थानीय तहमध्ये ६ स्थानीय तहको प्रमुखमा कांग्रेस विजयी भएको हो ।
तीन स्थानीय तहमा एमाले तथा एक स्थानीय तहको प्रमुखमा माओवादी केन्द्रले जित हात पारेको थियो ।
जिल्लाका ८४ ओटा वडामा एमालेले २७ हजार ३८९ र माओवादी केन्द्रले १८ हजार ७१९ मत प्राप्त गरेको थियो । कांग्रेसले २७ हजार ८७ मत प्राप्त गर्दा राप्रपाले ६ हजार ४०४ मत पाएको थियो ।
तर, स्थानीय तहको निर्वाचनमा खसेको अधिकांश मत मतदाताले पार्टीभन्दा पनि व्यक्ति रोजेको हुनसक्ने भएकाले स्थानीय तहको निर्वाचनको मतलाई पार्टीलाई दिएको भनेर भन्न सकिने अवस्था छैन ।
पूर्वप्रधानमन्त्री तथा राप्रपाका पूर्वअध्यक्ष लोकेन्द्रबहादुर चन्दको गृहजिल्ला बैतडीमा कांग्रेसले राप्रपासँग चुनावी तालमेल गरेको छ ।
प्रदेश नम्बर–७ को बैतडीमामात्र राप्रपाले गणेश चन्दलाई उम्मेदवार बनाएर चुनावी मैदानमा उत्रिएको छ ।
प्रतिनिधिसभा सदस्यका दुवै उम्मेदवारले आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन् ।
सारा कम्युनिष्ट एक भएपनि आफू लोकतन्त्रको पक्षमा रहेकाले आफ्नो जित सुनिश्चित भएको लोकतान्त्रिक गठबन्धनका उम्मेदवार चन्दको भनाइ छ ।
‘लोकतन्त्रको रक्षा र संविधानको पूर्णकार्यान्वयन गर्न लोकतान्त्रिक गठबन्धन विजयी हुन्छ’–उनले भने–‘देशको विकास र आर्थिक समृद्घिका लागि लोकतान्त्रिक गठबन्धनले जित्नुपर्छ ।’
आफूले जितेको खन्डमामात्रै समग्र बैतडीको विकास हुने उनले दाबी गरे ।
जारी गरिएको संविधानलाई कार्यान्वयन गर्दै आत्मनिर्भर अर्थतन्त्रको बाटोबाट मुलुकको विकास गरी समाजवादको दिशातर्फ अघि बढ्न आफूहरुको उम्मेदवारी भएको वाम गठबन्धनका उम्मेदवार भण्डारी बताउँछन् ।
जिल्लाको विकासका लागि सधैं लागिपरेको बताउँदै भण्डारीले आफू विजयी भए बैतडीको मुहार फेरिने दाबी गरे ।
उनले भने–‘सडक, शिक्षा, स्वास्थलगायतका विकासका पूर्वाधारमा जोड दिइनेछ ।’
यसैगरी, प्रतिनिधिसभाका लागि जिल्लामा विवेकशील साझा पार्टीका तर्फबाट नारायणदत्त अवस्थी, राष्ट्रिय जनमोर्चाबाट वीरेन्द्रसिंह भण्डारी र एकीकृत राप्रपा राष्ट्रवादीबाट त्रिलोकबहादुर चन्दसमेत चुनावी मैदानमा उत्रिएका छन् ।
प्रदेशसभा ‘क’मा लोकतान्त्रिक गठबन्धनबाट हरिमोहन भण्डारी, वाम गठबन्धनबाट प्रेमप्रकाश भट्ट, राष्ट्रिय जनसमाजवादी पार्टीबाट भगिरथसिंह कुँवर, राष्ट्रिय जनमोर्चाबाट अर्जुनसिंह मडै र राष्ट्रिय मुक्ति आन्दोलन नेपालबाट दिलीपराज पाण्डे चुनावी मैदानमा रहेका मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए ।
प्रदेशसभा ‘ख’मा लोकतान्त्रिक गठबन्धनबाट गणेश चन्द र वाम गठबन्धनबाट लीलाधर भट्ट चुनावी मैदानमा छन् ।
चुनावलाई लक्षित गरेर जिल्लामा राजनीतिक दलले चुनावी अभियानलाई तीव्रता दिएका छन् । राजनीतिक दलहरु मत माग्न गाउँकेन्द्रित भएका छन् ।
वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
एक लाख ३२ हजार ३१९ मतदाता रहेको बैतडीमा प्रतिनिधिसभाका लागि एउटा र प्रदेशसभामा दुईओटा निर्वाचन क्षेत्र निर्धारण गरिएको छ । रासस
