भत्ताको निहुँमा बृद्धबृद्धा तानातान


असार ९, अर्गली (पाल्पा) – केही दिन पहिले गुल्मीको रुरु गाउँपालिकाको वडा नम्बर ४ बलेटक्सारमा आयोजित चुनावी सभालाई सम्वोधन गर्दै नेपाली कांग्रेसका सांसद चन्द्र चण्डारीले बृद्धभत्तालाई ‘त्यही जाबो सय रुपैया’ भनेर भाषण गरेछन् । नेकपा एमालेले त्यसलाई निहुँ बनायो । भण्डारीलाई जवाफ फर्काउदै रुरु गाउँपालिकामा एमालेका तर्फबाट प्रमुखका उम्मेदवार नीलकण्ठ गौतमले भने, ‘बारंबार सरकारमा गएको कांग्रेसले ‘त्यही जाबो सय रुपैया’ पनि दिएन’ ।
बृद्धभत्ता बढाउने र कटाउने कुरा गुल्मी र पाल्पाका गाउँहरुमा यतिवेला जबरजस्त चुनावी मुद्दा बन्न पुगेको छ । बृद्धबृद्धाको भोट तान्नका लागि प्रोपोगाण्डा गरिएको मतदाताहरु बताउँछन् । नेकपा एमालेले बृद्धभत्ताको नारालाई भजाएको प्रतिष्पर्धी दलहरुको आरोप छ । तर, एमालेका स्थानीय नेताहरुले काँग्रेसले लगाएको आरोप जस्तो आफूहरुले बुद्धभत्तालाई भजाएको नभर्इ वास्तविक कुरा गरेको दाबी गर्छन् । पाल्पाको तानसेन नगरपालिकाको ग्रामीण भेग अर्गलीमा कांग्रेसले चुनाव जितेमा बृद्धभत्ता खोसिने भनेर एमालेले प्रचार गरेको भन्दै कांग्रेसले आपत्ति जनायो ।
‘कांग्रेसले चुनाव जिते बृद्धभत्ता खोसिने भनेर एमालेले यहाँका बृद्धाबृद्धालाई त्रर्साएको छ’ कांग्रेस नगर कमिटिका सचिव विष्णुप्रसाद पराजुलीले भने, ‘यो कुरा हामीले एमालेप्रति आरोप लगाउनको लागि भनेका होइनौं । प्रमाण चाहिए बृद्धबृद्धालाई भेटाइदिन सक्छौ ।’
स्थानीयका अनुसार अर्गेलीमा हालसालै एमाका नेताहरुले ८५ वर्षीय एक बृद्धाको घर पुगेर कांग्रेसप्रति अफवाह फैलाउँदै एमालेले भोट मागे । उनीहरुले ती बृद्धालाई ‘तपाईँलाई बृद्धाभत्ता दिएर पालेकै एमालेले हो भन्दै कांग्रेसले दिनुको साटो त्यही पनि खाइदिने’ भन्दै एमालेलाई भोट हाल्नुपर्ने भनि प्रभावमा पारेका थिए । तर, तीनै बृद्धाको घरमा कांग्रेसपछि भोट माग्ने जाँदा उनले आफूले भत्ता सुरक्षित गर्न पनि एमालेलाई नै भोट हाल्ने बताएपछि दुई दलबीच तनाव भएको एक स्थानीयले बताए ।
कांग्रेस र माओवादी केन्द्रका उम्मेदवारहरु चुनावी प्रचारका क्रममा बृद्धभत्ता ‘एमालेको पेवा’ नभर्इ राज्यकोषबाट वितरण भएको सुविधा भएको भन्दै हिँडेका छन् । नेपाली काँग्रेसका स्वर्गिय नेता कृष्णप्रसाद भट्टराइको अवधारणाललाई एमालेका स्वर्गिय नेता मनमोहन अधिकारीले कार्यान्वयन मात्र गरेकोले बृद्धभत्ता एमालेले ल्याएको भनेर प्रचार गर्न नहुने काँग्रेस माओवादी नेता कार्यकर्ताको भनार्इ छ । उनीहरुले चुनाव जिते बृद्धभत्तालाई झन् सहज बनाउने दावी गरे । ‘बृद्धभत्ता कृष्णप्रसाद भट्टराइकै अबधारणा हो, मनमोहनले लागू गर्नु भएको मात्र हो’ कांग्रेसको समर्थनमा माओवादी केन्द्रका तर्फवाट गुल्मीको रुरु गाउपालिकामा अध्यक्षका प्रत्यासी यदु ज्ञवाली भन्छन्, ‘हामीले चुनाव जिते बृद्धभत्ता पटुकी र आस्कोटको गोजीमै सुरक्षित गरिदिन्छौं । एमालेले अनावश्यक र झुटो प्रचार गर्नु जरुरी छैन ।’ तानसेन नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्षका एमाले उम्मेदवार शोभाकर भट्टराइले भने प्रतिष्पर्धी दलहरुले लगाएको आरोप निराधार भएको बताए ।
