संविधान कार्यान्वयन सबैको जिम्मेवारी : केसी



असार ९, धरान । संविधान कार्यान्वयन गराउने विषयमा तीनवटै पार्टीको उत्तिकै जिम्मेवारी रहेको नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री अर्जुननरसिंह केसीले बताएका छन् । आज सुनसरीको धरानमा आयोजित चुनावी सभालाई सम्वोधन गर्दै केन्द्रिय सदस्य केसीले संविधान कार्यान्वयन गराउने कुरामा कसैको कम र कसैको बढि दायित्व नहुने बताएका हुन् ।
निर्वाचन परिचालन मूल समितिको आयोजनामा भएको चुनावी सभामा बोल्दै केन्द्रिय सदस्य केसीले संविधान कार्यान्वयन गर्न सबैदलहरु एक भएर लाग्नुको विकल्प नभएको जिकिर गरे । ‘संविधान कार्यान्वयन गराउने कुरामा कुनै पार्टीको कम र कुनैको बढि जिम्मेवारी भन्ने हुन्न । यो सबैको दायित्व हो ।’ उनले भने । केसीले धरानलाई तराई र पहाडको आर्थिक हब बनाएर लैजानुपर्नेमा जोड दिए । यसका लागि विशेष कार्यक्रम बनाउनु पर्नेमा केसीको जोड थियो । धरानलाई तराई र पहाडको ‘मिक्स जोन’ को रुपमा विकास गरिनुपर्छ । यसका लागि आर्थिक विकाससँगै शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रलाई अघि सार्नुपर्छ ।’ उनले भने ।
चुनावी सभालाई सम्वोधन गर्दै अर्का केन्द्रिय सदस्य तथा सांसद मिन बिकले राष्ट्रलाई एकताबद्ध बनाउने काम कांग्रेसले गन ठोकूवा गरे । उनले कांग्रेस पार्टीलाई ‘इलाष्टिक’ सँग तूलना गर्दै राष्ट्रलाई एकताबद्ध बनाउन कांग्रेस ‘एलाष्टिक’ जस्तै लचिलो बन्नको लागि पछि नपर्ने जिकिर गरे ।
सभामा बोल्दै धरान उपमहानगरपालिकाका मेयरका उम्मेदवार तिलक राईले आफु धरानको विकासमा प्रतिबद्ध रहने तथा अन्य पार्टीले जस्तो झुक्याउने नारा नबोक्ने काम गरेर देखाउने बताए । उनले नगरबासीलाई यसपटक कांग्रेसलाई मौका दिन आग्रह गर्दै धरानको सर्वाङिगण विकासमा ठोस योजना बनाएर आफु जाने प्रतिबद्धता ब्यक्त गरे ।
कार्यक्रममा केन्द्रीय सदस्य मिना सुब्बा, पूर्व नगर सभापति किशोर राई, उपमेयरकी उम्मेदवार श्यामा रेग्मीलगायतले बोलेका थिए । चुनाबी सभा हुनु अघि पार्टीको धरानका विभिन्न वडाहरुबाट ¥याली निकालिएको थियो ।
