धरानमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच रोचक प्रतिस्पर्धा

कार्तिक २६, सुनसरी । धार्मिक र पर्यटकीय सहर हो धरान । लाहुरेको सहरका रूपमा पहिचान बनाएको धरानमा अहिले लाहुरेको सङ्ख्या त घट्दो क्रममा छ तर यसको इतिहास लाहुरेसँग नै छ । पहिचानको मुद्दालाई अलि धेरै बोकेको धरान उपमहानगरमा चुनावको मिति नजिक आउँदै गर्दा चुनावी भिडन्त रोचक बन्दै गएको छ ।

धरान उपमहानगरपालिकामा कसले जित्ला ? अहिले नै भन्न सकिँदैन । तर, यतिचाहिँ अहिल्यै भन्न सकिन्छ कि यहाँको चुनावमा एमालेले जित्दै आएको छ । पूर्वाञ्चलको सुन्दर नगरी धरान नवघोषित उपमहानगरपालिका हो । धरान २० वडामा विभाजित छ ।

यस पटक एमाले र काँग्रेस नै प्रतिस्पर्धी भए पनि बामगठबन्धन र लोकतान्त्रिक गठबन्धनले चुनावी प्रतिस्पर्धा निकै रोचक र कडा हुने देखिएको छ । यसको कारण हो सङ्घीय समाजवादी फोरम र काँग्रेसको तालमेल र माओवादी र एमालेबीचको तालमेल ।

सुनसरी १ मा काँग्रेस, राप्रपा साथै सङ्घीय समाजवादी फोरम गठबन्धनले प्रत्यक्षतर्फ अशोक राई र बाम गठबन्धनले जयकुमार राईलाई उम्मेदवार बनाएको छ । यस्तै प्रदेशसभातर्फ किशोर राई र प्रदीप भण्डारी मैदानमा छन् । यहाँ बाम गठबन्धनको ४१३०० र काँग्रेस गठबन्धनको २३८५४ मत गत स्थानीय चुनावमा देखिन्छ । यस क्षेत्रमा बाम गठबन्धन १७४४६ मतले अगाडि देखिएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार यो क्षेत्रमा कुल १ लाख २२ हजार ६९१ मतदाता छन् । क्षेत्र १ (क) मा ६१ हजार ७ सय ५५ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिसभा उम्मेदवार अशोक आफैमा बलियो र चर्चित हुन् । सङ्घीय समाजवादी फोरमका वरिष्ठ नेताका रूपमा रहेका अशोक केन्द्रमा समेत राम्रो पकड रहेको र पकडलाई सही सदुपयोग गर्न सक्ने हुनाले पनि एकखाले मतदाता अशोकले जिते हुन्थ्यो भन्ने पक्षमा छन् भने अर्कोखाले मतदाता जो एक पार्टीमा लागेपछि त्यही पार्टीलाई भोट दिनुपर्छ भन्ने छन् । सत्तारुढ नेपाली काँग्रेसले सङ्घीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोकलाई भावी सभामुख बनाउने तयारी थालेको चर्चा सुनिन थालेपछि उनले राम्रो पकड जमाउन सक्लान् कि भन्ने अनुमान लगाउने पनि बढेका छन् ।

प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले यसबारे फोरम अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरिरहेको बालुवाटार निकट स्रोतले बतायो । काँग्रेसले जनजाति समुदायलाई उच्च प्राथमिकता दिँदै सभामुख पदका लागि लोकतान्त्रिक गठबन्धनमा अशोक उपयुक्त भएकाले उनलाई नै अघि बढाउने निष्कर्ष निकाल्दै फोरमसँग परामर्श थालेको हो ।

स्मरण रहोस् अशोक राई एमालेमा नाम मात्रका उपाध्यक्ष थिए । एमालेले कुनै भूमिका नदिएर खाली पदमा थन्क्याएर राखेपछि उनी पार्टी छोड्दै उपेन्द्र यादवको फोरममा आएका थिए । जनजाति नेतामा अशोक राई अग्रपङ्क्तिमा आउँछन् । उनी पुराना नेता पनि हुन् ।

काँग्रेसले नेपाली राजनीतिमा उनको योगदानको कदर गर्दै र जनजाति समुदायको सम्मानमा राईलाई संसद्को बागडोर सम्हाल्ने ठाउँमा पु¥याउने तयारी गरेको स्रोतको दाबी छ । धरानमा पहिचान पक्षधर जनजातिको बाहुल्य रहेको र पहिचानवादीहरुले आपसी तचालमेल गरेकाले उनीहरूको दाबी बलियो बनेको स्थानीयबासी बताउँछन् । बामगठबन्धनका उम्मेदवार जयकुमार राई स्थानीय स्तरमा मात्रै परिचित छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *