राजपा कार्यकर्ता र प्रहरीवीच झडप, तीन घाइते


असार, ३ नवलपरासी । नवलपरासीको परासीमा राष्ट्रिय जनता पार्टीले आयोजना गरेको विरोध सभामा कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । झडपको क्रममा प्रहरीले चलाएको रवरको गोली लागि तीन जना घाईते भएका छन् ।
परासीस्थित बुद्धचोकमा राजपाले विरोध सभाको आयोजना गरेको थियो । सभामा राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, अध्यक्ष मण्डलका सदस्यहरु राजेन्द्र महतो, राजकिशोर यादव, अनिल झा लगायतका नेताहरुको सहभागिता रहेको थियो ।
महन्थ ठाकुर बोलिरहेका बेला राजपा कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो । सभा भइरहेको स्थानमा रहेको मध्य नेपाल यातायात व्यवसायी समितिको कार्यालय तोडफोड गरेपछि झडप सुरु भएको थियो ।
तोडफोड रोक्न प्रहरीले अश्रु ग्याँसका साथै रवरको गोली हानेर राजपाका कार्यकर्तालाई तितरवितर बनाएको थियो । रबरको गोली लागि गेरमीका सुरज गुप्ता र जहदाका नरसिंह चौधरी घाइते भएका छन् । भने, घाईते हुने अर्का एकको परिचय खुलेको छैन ।
मञ्चबाट अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ उपाध्यक्ष हृदयश त्रिपाठीले तोडफोडमा नउत्रिन र संयमित हुन आग्रह गर्दा पनि राजपा कार्यकर्ताले मानेका थिएनन् ।
प्रहरी र कार्यकर्ताबीच भएको झडपलाई प्रहरीले नियन्त्रणमा लिनका लागि ३ राउड रबर गोली फायर गरेको छ थियो । भने, आधा दर्जनभन्दा बढि आश्रुग्यास प्रहार गरेको छ ।
