सरकार गठनभन्दा पहिला पार्टी एकता : प्रचण्ड

भरतपुर, पुस २० । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार गठनभन्दा पहिला पार्टी एकता हुने बताएका छन् । आज गृहजिल्ला आएका अध्यक्ष प्रचण्डले भरतपुर विमानस्थलमा पत्रकारहरुसँग पार्टी एकतामा कुनै गाँठो नपरेको बताए । प्रेस चौतारी र प्रेस सेन्टरले गरेको संयुक्त पत्रकार सम्मेलनमा उनले भने, ‘केपीजीलाई बिसञ्चो भएर भेटघाट हुन मात्र नपाएको हो, पार्टी एकतामा कुनै गाँठो परेकै छैन । सरकारभन्दा पहिला पार्टी एकता गरेर टुङ्गो लगाउनेमा हामी सबैको जोड छ ।’

अध्यक्ष प्रचण्ड भोलिदेखि ३ दिनसम्म हुने भरतपुर महानगरपालिकाको नगर सभाको र उद्योग संघको अधिवेसनको उद्घाटन गर्न गृहजिल्ला झरेका हुन् । पत्रकार सम्मेलनमा उनले पार्टी एकताबारे आफ्ना पार्टीका कार्यकर्ताहरुलाई कुनै किसिमको धारणा सार्वजनिक नगर्न समेत सचेत गराएका थिए । पार्टी एकताबारे पदीय बाँडफाँडमा आएको ५०/५० कुरा पनि गलत रहेको बताए । पार्टी एकताबारे जसलाई जे मन लाग्छ, त्यही नबोल्नसमेत उनले कडा निर्देशन दिए ।

प्रचण्डले राष्ट्रिय सभा निर्वाचनको मिति तोक्ने, प्रदेशको अस्थायी केन्द्र तोक्ने र प्रदेश प्रमुख बनाउने काम सरकारलाई दिएको बताए । उनले आज (बिहीबार) सबै पार्टीहरुको बैठक सकारात्मक भएको जानकारी दिए । राष्ट्रिय सभा निर्वाचनमा कुनै समस्या नरहेको उनले दावी गरे । ‘अध्यादेशको विषयमा गाँठो पर्लाजस्तो थियो, त्यो अब फुक्यो । ‘राष्ट्रिय सभाको निर्वाचन छिटोभन्दा छिटो सम्पन्न होस भनेर हामीले सरकारलाई भनेका छौँ’ अध्यक्ष प्रचण्डले भने ।

अहिले सरकारले तोकेको प्रदेश केन्द्र भोलि प्रदेशले चित्त नबुझेको खण्डमा उल्ट्याउन पनि सक्ने बताए । संविधानको भावनाअनुरुप प्रदेश प्रमुख र प्रदेशको अस्थायी केन्द्र तोक्नुपर्ने उनको भनाइ थियो । उनले राष्ट्रिय सभाको निर्वाचनपछि नै सरकार गठन हुने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *