धनुषा-३, दुई हेभिवेटका लागि टर्निङ पोइन्ट


मंसिर १३, काठमाडाैं । दुई हेभिवेट नेताकै राजनीतिक भविष्यको टर्निङ पोइन्ट हुन सक्छ, धनुषा ३ को यसपटकको प्रतिनिधिसभा चुनावको परिणाम । विमलेन्द्र निधिले १८ वर्षअघि पनि चुनाव हारेका थिए । तर, ६२ वर्षको उमेरमा यसपालि हारे उनको राजनीतिक ‘करिअर’ मा ठुलो ‘सेटव्याक’ हुने अनुमान विश्लेषकहरु गर्छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
अर्कोतिर राजेन्द्र महतोले पनि दोस्रो संविधानसभा चुनाव (२०७०) मा आफ्नै घर भएको क्षेत्रमा हारेका थिए । त्यसपछि २ वर्षअघिको मधेस आन्दोलनमा सक्रिय भएर उनले मधेसमा एकचोटि आफूलाई उचाइमा पुर्याएका थिए । चुनाव हारे राजपाको अध्यक्ष मण्डलबाट अध्यक्ष हुने उनको दाबेदारीलाई कमजोर बनाउने अनुमान जानकारहरु गर्छन् । जित्दा काँग्रेसका हेभिवेटलाई उनकै गृहनगरमा बाहिरिया भएर जित्दा राजपाका साथै राष्ट्रिय राजनीतिमा उनी ‘हेभिवेट’ साबित हुनेछन् ।
केही दिन अघि जनकपुर ३ को मत बुझ्ने प्रयास गरेका पूर्व अर्थसचिव रामेश्वर खनालले यहाँको मत अनिर्णीत पाएका थिए । दुई घण्टा पैदल हिँडेर कुराकानी गर्दा मतदाताले कसलाई भोट हाल्ने निर्णय गरी नसकेको बताएका थिए । हुँदाहुँदा काँग्रेसकै कार्यक्रममा झन्डा बोकेका व्यक्तिले समेत भोट कसलाई हाल्ने निर्णय अघिल्लो दिन (२० गते ) गर्ने बताएका थिए ।
बुद्धिजीवी सुरेन्द्र लाभका अनुसार पनि जनमत अनिर्णीत छ, यसैले तस्बिर अस्पष्ट छ । ‘चुनावको दुई दिनअघि स्पष्ट चित्र देखिएला’, उनी भन्छन् । उनका अनुसार, अन्तिम समयमा जातीय समाजले पनि कसलाई भोट हाल्ने भनेर निर्णय गर्नेछन् । ‘समाजले भन्दैमा शतप्रतिशत भोट पर्ने होइन तैपनि माहौल बनाउन त्यसले सघाउने छ’, उनी भन्छन्, ‘धनुषा ३ मा मैथिल ब्राह्मण र स्थानीय भाषामा साहुजी भनिने सुडी, कलवार र तेली समाजले जसलाई चाह्यो उसले चुनाव जित्ने अवस्था छ ।’
देशमै १ लाखभन्दा बढी मधेसी ब्राह्मण रहेकोमा २४ हजारभन्दा बढी त यसै क्षेत्रमा छन् । उल्लेख्य सङ्ख्यामा रहेका साहुजी जनकपुरका वास्तविक साहुजी पनि हुन् । यहाँको व्यापारमा यिनकै वर्चस्व छ । पैसा, बुद्धिका साथै भोटको सङ्ख्या पनि उल्लेख्य भएकाले दुई जातले समर्थन गर्दा अरूले आसै गर्न नपर्ने अवस्था बनेको हो, लाभ टिप्पणी गर्छन् ।
